भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले मुलुकको राजनीति उल्टाइदियो । देशमा बढ्दो भ्रष्ट्राचारको अन्त्य, सार्वजनिक निकायमा राजनीतिकरण रोकिनुपर्ने, दलका प्रमुख नेताहरूको राजनीतिक अवकाश, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गर्ने मुख्य माग थियो जेनजीको ।
यही आक्रोशका कारण सडकमा प्रदर्शन गर्ने १९ जना युवाले ज्यान गुमाए । युवाहरूको ज्यान गएपछि चुलिएको आक्रोश झनै चुलियो ।
भोलिपल्ट देशमा ठूलो विद्रोह नै भयो, जसले नेपालका तीनै तहका प्रमुख राज्य संरचनाहरू खरानी बनाइदियो । उक्त आन्दोलनमा परी देशभर ७२ को ज्यान गएको छ ।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, व्यवस्थापिका संघीय संसद् भवन र न्यायिक सर्वोच्चताको प्रतीक सर्वोच्च अदालत आन्दोलनकै क्रममा जले ।