काठमाडौं । पाटन उच्च अदालतले ‘लाज शरणम्’ को प्रचारप्रसार सामाजिक सन्जाल र सञ्चार माध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ। अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टरको गेटअप, हाउभाउ र लवज पुर्व मन्त्री मोहम्मद अफ्ताव आलमसंग मिल्दो जुल्दो रहेपछि मन्त्री आलमले रिट दायर गरेका हुन् ।

मन्त्री आलमले आफ्नो अनुहारसँग मिल्ने पहिरन, गेटअप, जिउडाल, कपाल मिलाउने शैली, हाउभाउ र लबज अनुमतीविना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले, चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनको रिटमा अन्तरिम आदेश दिँदै अदालतले सामाजिक संजाल र मिडियाबाट कुनै पनि प्रचार सामाग्री सार्वजनिक नगर्नु भन्दै अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सन्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’

भद्रगोल हुँदै सक्किगोनी टेलिसिरियल निर्माण गरिरहेका हास्यकलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको टिमले निर्माण गरेको उक्त चलचित्र आगामी १४ गतेबाट प्रदशनमा आउने तयारीमा थियो । उक्त चलचित्रको टेलर आज सार्वजनिक हुने भनिएकोमा अदालतको आदेशले रोकिएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *