


काठमाडौं । फिल्म ‘होस्टेल’को चौथो श्रृंखला पनि निर्माण हुने भएको छ । गत वर्षको फागुनमा प्रदर्शन भएको ‘होस्टेल ३’ व्यावसायिक रुपमा सफल भएपछि सोही समूहले ‘होस्टेल अगेन’ शीर्षकमा फिल्म बनाउन लागेको हो ।

निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूल र आधा च्यातिएको डायरीको पानालाई थिचेको देखाइएको छ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वलाई दर्शाउँछ ।


निर्देशक सशान कँडेलका अनुसार फिल्म थ्रिलर र सस्पेन्स कथामा बन्नेछ । यसअघि उनले ‘होस्टेल ३’ निर्देशन गरेका थिए । अघिल्ला श्रृंखलाले झैं ‘होस्टेल अगेन’ले पनि नयाँ प्रतिभाहरूलाई जन्माउने अपेक्षा गरिएको छ । फिल्ममा कलाकारहरू भने तय भएका छैनन् ।
