


पोखरा । गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगितामा प्रतिष्ठान कास्कीका अनिल चापागाईँ र अर्चना चापागाईँ प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा भएको प्रतियोगितामा विसौनी दोहोरी साँझलाई फाइनलमा हराउँदै प्रतिष्ठान कास्की विजय भएको हो ।
बिसौनी दोहोरी साँझबाट बेलबहादुर सुनार र सपना सुनारले प्रतिनिधित्व गरेका थिए । विजेता कास्कीले ५० हजार रुपैयाँ, प्रमाणपत्र र उपविजेता विसौनी दोहोरी साँझले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।


त्यसैगरी ससुराली रोधी घरका सुदिप सापकोटा र ललिता घर्ती मगर तृतीय भइ १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतिष्ठान बागलुङका सुमन खड्का र जमुना सुनार सान्त्वना भइ ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि प्रतिष्ठान गोरखाका रोशन परियार र उत्कृष्ट गायिकाको उपाधि प्रतिष्ठान पर्वतका शोभा परियारलाई प्रदान गरियो । । दुवै जनालाई जनही ५÷५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १३ टिम सहभागी भएका थिए ।
सोही प्रतियोगिताबीच लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको थियो । दुवै सम्मानित व्यक्तित्वहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले दोसल्ला ओढाएर सम्मान अर्पण गरेका थिए ।
