Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

स्याङ्जा क्षेत्र नं १ अधिवेशन : सभापति थापा विधिमा चल्दा नेता ढकालले देखाए अहंकार

स्याङ्जा । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनमा उम्मेदवारहरूको नामावली प्रकाशन शैलीलाई लिएर अहिले राजनीतिक वृत्तमा रोचक मात्र होइन, गम्भीर बहस सुरु भएको छ।

अधिवेशनका क्रममा देखिएका आन्तरिक अभ्यासहरूले पार्टीभित्रको नेतृत्वको मानसिकता र संगठनात्मक संस्कृतिमाथि गम्भीर प्रश्न उब्जाएका छन्। विशेष गरी, उम्मेदवारको सूची निकाल्दा अपनाइएका तौरतरिका र त्यससँग जोडिएका दाबीहरूले लोकतान्त्रिक पार्टीभित्र कस्तो संस्कृति हुर्कंदैछ भन्ने छर्लङ्ग पारेको छ ।

चुनावी मैदानमा देखिएका राजु थापा र भरत ढकालका टिमले अपनाएका आन्तरिक अभ्यासहरू पूर्णतया विपरीत र गतिलो अध्ययनको विषय बनेका छन्। पूर्व माननीय, तीन–तीन पटक चुनाव लडिसकेका र स्याङ्जा जिल्लाको सभापति भइसकेका अनुभवी व्यक्तित्व राजु थापाको टिमले नामहरू प्रस्तुत गर्दा विधिसम्मत रूपमा क्रम संख्या वा वर्णानुक्रम (अल्फाबेटिकल अर्डर) को प्रणालीगत आधारलाई प्राथमिकता दिएको देखिन्छ । राजु थापा आफैंमा खारिएका नेता भए पनि, उनले टिम निर्माण गर्दा वा मनोनयन दर्ता गराउँदा प्रक्रिया र पद्धिलाई आत्मसात् गर्दै आफ्नो नामलाई विधिसम्मत ढङ्गले राखे । यस किसिमको शैलीले टिमभित्र सामूहिक भावना, नियम र संस्थागत मर्यादा कायम राख्न खोजेको प्रष्ट संकेत गर्छ।

यसको ठीक विपरीत, भरत ढकालको टिममा देखिएको प्रवृत्ति भने पुरानै सामन्ती ढर्रा र हास्यास्पद दाबीले ग्रसित छ। उनी यसअघि स्याङ्जा क्षेत्र नं १ बाट चुनाव लड्दा रास्वपा उम्मेदवारसँग फराकिलो अन्तरले पराजीत भएका थिए । वर्णानुक्रमको नियम र क्रम संख्याको हिसाबले हेर्दा भ बाट आउने उनको नाम सूचीको पछाडि पर्नुपर्ने हो। तर, उनी स्वयं टिमको सभापति वा मुख्य नेता नभई एउटा टिमको मात्रै नेतृत्व गरिरहँदा पनि उनले ‘म टिम निर्माता हुँ, म चुनाव लडिसकेको व्यक्ति हुँ, त्यसैले म सिनियर हुँ र मेरो नाम पहिलो नम्बरमै हुनुपर्छ’ भन्ने अहम् राखे। नियम र वर्णानुक्रमले पछाडि पार्दापार्दै पनि उनले आफ्नो नाम जबरजस्ती अगाडि राखेर वितरण गरे।

अझ अनौठो र विडम्बनाको कुरा त यो छ कि, आफूलाई विशेष महाधिवेशन र गगन थापाको टिमको ठप्पै मसिहा वा मुख्य पात्र बताउने भरत ढकालको धरातल नै नभएको तथ्य बाहिर आएको छ । उनी त्यो समयमा विशेष अधिवेशनमा हस्ताक्षर गर्ने हैसियतमा समेत थिएनन्— उनी कांग्रेसको साधारण क्रियाशील सदस्य मात्र थिए वा क्षेत्रीय प्रतिनिधि थिए भन्ने नै स्पष्ट छैन । महाधिवेशन प्रतिनिधिको रूपमा विशेष अधिवेशनका लागि हस्ताक्षर गर्ने कानुनी वा साङ्गठनिक हैसियत नै नभएका व्यक्ति, पछि चुनावी माहोल तातिँदा टिकट बोकेर मात्र मैदानमा आएका हुन् । तर, क्षेत्रीय प्रतिनिधिहरूसँग भोट माग्ने क्रममा उनले आफूलाई विशेषको अवशेष वा मसिहा मै हुँ भन्दै सरासर झुटो र भ्रमपूर्ण दाबी गरेको समेत पाइएको छ। यो आफैंमा हास्यास्पद र राजनीतिक बेइमानी हो।

नाम अगाडि वा पछाडि हुनुले उम्मेदवारको वास्तविक धरातल, क्षमता वा योग्यतालाई फेरबदल गर्दैन। तर, म नै सर्वेसर्वा हुँ भन्ने सामन्ती मानसिकता, कृत्रिम इतिहास र व्यक्तिगत वर्चस्व देखाउने यस्ता प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई भित्रैदेखि कमजोर बनाउँछ। पद र महत्वकांक्षाका लागि यतिसम्मको झुटको सहारा लिनुले उनी र उनको टिमको राजनीतिक चेतनाको स्तर कुन हदसम्म खस्किएको छ भन्ने प्रष्ट्याउँछ।

व्यक्तिगत वरियताको अहम् प्रदर्शन गर्नु र नभएको इतिहासको झुटो दाबी गर्नुभन्दा पारदर्शी, वैज्ञानिक र विधिसम्मत प्रणालीको अवलम्बन गर्नु नै आजको राजनीतिक संस्कृतिमा अपरिहार्य देखिन्छ। विधि र पद्धतिलाई तोडेर तथा झुटको खेती गरेर आफ्नो अहम् तुष्टि गर्ने प्रवृत्तिलाई समयमै चिर्न जरुरी छ। यस विषयमा सही र गलत छुट्याउने जिम्मा अब हामी सबै पाठक तथा सचेत नागरिकहरूको काँधमा आएको छ।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.