पोखरा, जेठ ३ — पोखरामा इलेक्ट्रिक सवारीप्रति बढ्दो आकर्षणबीच टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको एकै दिन एक सय वटा डेलिभरी गरेर नयाँ कीर्तिमान कायम गरिएको छ।टीभीएसको पोखरास्थित आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्रालिले न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना गरेको विशेष कार्यक्रममा १०० जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको हो। पोखरामा एकै दिन यति धेरै इलेक्ट्रिक स्कुटर डेलिभरी भएको यो पहिलो घटना मानिएको छ।
कार्यक्रममा ग्राहक र उनीहरूका परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। स्कुटर बुझ्न पुगेका ग्राहकहरूले आईक्युबको आरामदायी राइड, कम खर्च र भरपर्दो प्रविधिका कारण आफूहरूले यो स्कुटर रोजेको बताएका थिए।
कम्पनीका अनुसार हाल पोखराका सडकमा मात्रै १ हजारभन्दा बढी टीभीएस आईक्युब स्कुटर सञ्चालनमा छन्। इन्धनको बढ्दो मूल्य र वातावरणप्रतिको सचेतनासँगै पोखरेलीहरू इलेक्ट्रिक सवारीतर्फ आकर्षित भइरहेको कम्पनीको भनाइ छ।
स्क्वायर मोटर्सले ग्राहकको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहज स्पेयर पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।