सन्तोष सुवेदी,पोखरा । २०८२ सालमा ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । विगतका वर्षहरुमा भन्दा प्रदर्शनको हिसाबले नेपाली चलचित्र कम हो । चलचित्र विकास बोर्डले सार्वजानिक गरेको तथ्यांक अनुसार २३० वटा चलचित्र दर्ता भएपनि ९४ वटामात्रै चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन् ।
नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५ सय ४४ रहेको बोर्डले जनाएको छ । सबैभन्दा बढी टिकट ‘परान’ को बिक्री भएको छ । यसको कुल कमाइ भने १७ करोड ७६ लाख ग्रस छ । यो नै यस वर्षको सर्वाधिक कमाउने स्वदेशी फिल्म हो । दोस्रोमा ‘आ बाट आमा’ ले १३ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ भने तेस्रोमा ‘जेरी अन टप’ ले १२ करोड २८ लाख ग्रस कलेक्सन रहेको छ । त्यस्तै ‘ऊनको स्वीटरले ११ करोड ४१, जारी–२ ले ६ करोड २४ लाख, बलिदानले ५ करोड १० लाख र मोहरले ५ करोड ८ लाख कमाइ गरेको छ ।
यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रको व्यापारिक तथ्यांक हेर्दा एक अर्ब आठ करोड ३ लाख ५७ हजार नौ सय १० बराबरको उल्लेख गरिएको छ । त्यस्तै विदेशी चलचित्रले एक अर्व ११ करोड ५२ लाख ६७ हजार सात सय ४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार सात सय ५७ टिकट बिक्री भएको तथ्यांकमा उल्लेख गरिएको छ । यो कमाई वर्ष २०८२ मा प्रदर्शनमा आएका ९३ वटा अन्तर्राष्ट्रिय चलचित्रको कमाइ हो ।
बोर्डको विवरण अनुसार चलचित्र वितरण तर्फपनि उल्लेख्य गतिविधि भएको देखिन्छ । वर्ष ०८२ मा ९ वटा नया वितरक दर्ता भएसँगै कुल ४४ वितरक संख्या पुगेको छ । यस वर्ष नेपाली बक्स अफिसको आकार भने गत वर्षको भन्दा लगभग १८.९ प्रतिशत (५१ करोड) ले खस्किएको छ । अघिल्लो वर्ष २ अर्ब ७० करोड रहेको नेपाली फिल्म बजारको आकार यस वर्ष २ अर्ब १९ करोड ९१ लाख रुपैयाँमा सीमित रह्यो । यसमा नेपाली फिल्मको योगदान १ अर्ब ८ करोड ३८ लाख रुपैयाँ छ भने विदेशी फिल्मको कमाइ १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ रहेको छ ।