पोखरा । पोखरामा ‘बहुमूल्य ढुंगा’ दिने भनी प्रलोभनमा पारेर साढे १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास ५, स्थायी घर भई हाल पोखरा–१७ बस्ने ३१ वर्षीया इन्दिरा बिक, ३६ वर्षीय राजन बिक र खोटाङको हलेसी–१ की २७ वर्षीया जुनू भन्ने लक्ष्मी राई हुन् ।

घटना विवरण अनुसार, ५ करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भनी आफूलाई प्रलोभनमा पारेको र आफूले पटकपटक गरी साढे १३ लाख बुझाएको पीडित कुन्ती सुब्बा गुरुङको गुनासो छ । अनेक प्रलोभनमा पारि ठूलो रकम ठगी गरेको उनको जाहेरी आधारमा बुधबार दिउँसो गण्डकी प्रदेश प्रहरी कार्यालयको सहयोगमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले पोखरा ६, लेकसाइडबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । इन्दिरा र राजनको कोठा खानतलासी गर्दा सेतो रङको पारदर्शी ढुंगा ६ थान र रातो रङको ढुंगा १ थान, विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक बरामद गरिएको हो । कास्की जिल्ला अदालतबाट उनीहरुविरुद्ध ठगीसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *