


पोखरा । नेपाली सिनेमा क्षेत्रको लागि यो वर्ष निकै फलदायी बन्यो । बर्ष सकिन अझै दुई महिना बाँकी रहँदा प्रदर्शनमा आएका थुप्रै फिल्मले आक्रमक व्यापार गरे । यो वर्ष नेपाली सिनेमाको लागि सुनौलो वर्ष बन्न गयो भन्दा फरक नपर्ला । अझै भनौं दशैैबाट तातेको नेपाली सिनेमा बजारको विस्तार अझै सेलाउन सकेको छैन् । यो नेपाली सिनेमाको लागि पनि सुखद पक्ष हो ।
कति सिनेमाले एक हप्ता पनि हलमा टिक्न मुस्किल हुने बेलामा कात्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले गौरवमय एक सय दिनको रेकर्ड बनाएको छ । ‘पूर्णबहादुरको सारङ्गी’ले सय दिन मनाउँदै गर्दा नेपालमा करिब ४९ करोडको व्यापार गरेको छ ।सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको इतिहास रच्न सफल यो फिल्मले यस वर्ष हलमा लामो समयसम्म प्रदर्शन हुने फिल्मको कीर्तिमानी बनाएको छ ।


शुक्रबार फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा पूरा गरेको छ । काठमाडौंको सामाखुसीस्थित क्यूएफएक्स चेनको सिटी स्क्वायर हल, रञ्जना सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, बुटवल र धरानको फ्रेन्ड्स सिनेमाजसहितका १० वटा हलमा फिल्मले सय दिन मनाएको छ ।
फिल्मले प्रदर्शनको सय दिन मनाएको खुसीयालीमा निर्माताले सय रुपैयाँमा फिल्म देखाउने घोषणा गरेका छन् । उक्त अफर माघ २७ गतेसम्म रहने निर्माण टिमले जनाएको छ । केही दिनअघि फिल्म सफलताको खुसीयालीमा विशेष कार्यक्रम आयोजना गर्दै ‘पूर्णबहादुरको सारङ्गी २’ निर्माणको घोषणा गरिएको थियो ।
