


पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी मोतिमान शाक्यलाई सम्मान गरेको छ । शेरचनको १४ औं स्मृति दिवसको अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुर गुरुङ ह्योल्मोले शाक्यलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, दोसल्ला र सम्मानपत्रद्धारा गरेका थिए ।
स्रष्टा छनोट समितिमा संयोजक नारायण शर्माको संयोजनमा सदस्य यमबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए । कल्याण शेरचन स्मृति प्रतिष्ठानले स्मृति दिवसको अवसरमा हरेक वर्ष विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको प्रतिष्ठानका सचिव जीवन दाहालले बताए । ‘एक वर्ष शिक्षा क्षेत्र, अर्को वर्ष गीत संगीतका व्यक्तिलाई सम्मान गर्छौ । अघिल्लो पटक संगीत क्षेत्रका कुमार बस्नेतलाई सम्मान गरिएको हो । यो पटक खेलकुद क्षेत्र समेटिएको छ,’ उनले भने ।


सम्मान कार्यक्रममा बोल्दै पोखरा महानगपालिका प्रमुख धनराज आचार्यले कल्याण शेरचन लोक स्रष्टामात्र नभएर सामाजिक क्षेत्रमा पनि क्रियशिल रहेको स्मरण गरे । कार्यक्रममा गायक पुरुषोत्तम न्यौपाने, रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराका प्रमुख शान्ति गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतले शुभकामना दिँदै कल्याण शेरचनलाई स्मरण गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको थियो ।
