वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ ।
‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो’, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने । गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।