पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव सुरु भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा महोत्सव हुन लागेको हो ।

असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।

‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *