पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ । चलचित्र सम्बन्धी विभिन्न चार सेसनमा विविध विषयवस्तुमाथि गहन छलफल भयो ।

पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्तामा थिए–पत्रकार दीपक परियार ।

उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए । उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए ।

निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गर्नुभयो । चलचित्रकर्मीले त समाजलाई अग्रगति दिनुपर्ने बताए । उनले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताउनुभयो अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । ‘‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन । मूल कुरा सिनेमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने भन्ने मूल मुद्दा हो,’’ उनले भने । उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको उनको विश्लेषण छ ।

कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । उनले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौ, तबसम्म अथेन्टिक नआउने बताइन् । लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०÷६२ जिल्ला घुमेको स्मरण गरे । ‘‘अब काठमाडांैको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ,’’ उनले भने ।

अर्को सेसन थियो, सिनेमामा संगीत ः कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत ।तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । कथामा पनि क्यारेन्टरअनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ ।

प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ । सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ,’’ उनले भने ।

सिनेमा संवादको तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । सुव्रत आचार्यले गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूल भएको बताइन् । उनले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गरिन् । एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको बताइन् ।

कलाकार महेश त्रिपाठी र अर्का अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।

 

सिनेमा संवादको अन्तिम सेसनमा, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी थिए । सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गरे ।

बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्दै चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिए । उनले आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने दाबी गरे । चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए । उनले तत्काल चलचित्र ऐन पारित हुनुपर्ने आवश्यकता औल्याए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *