‘सिंहदरबारमा महत्वपूर्ण डाटा सेन्टर र कागजात छ । केही नगर्नुहोला ।’
सुरक्षाकर्मीलाई फूलको थुँगा दिएर हार्दिकताका साथ सुरु गर्ने भनिएको जेन जी प्रदर्शन २४ घण्टा नबित्दै आगोको लप्कामा परिणत भइसकेको थियो । आक्रोश र बदलाको भावले भरिएको त्यो भीड कतै तोडफोड त कतै आगो सल्काउँदै सिंहदबारतर्फ बढ्यो ।

लगत्तै भिक्टर पौडेलले ‘प्लिज, सिंहदरबारमा केही नगर्नुहोला भनी’ रुटिन अफ नेपाल बन्दको पोस्ट आफ्नो वालमा शेयर गरे । युवापंक्ति नै क्रोधले आगो भइरहेको त्यो क्षण उनी जति संयम र सचेत देखिए, त्यो अनुकरणीय थियो ।

त्यसो त भिक्टरलाई सोसल मिडियामा पछ्याउने र पत्याउनेको संख्या कम्ती छैन । जब उनी केही लेख्छन्, त्यसमा ‘रियाक्ट’, ‘शेयर’ र ‘कमेन्ट’ गर्नेको घुँइचो यसरी लाग्छ मानौं उनीहरू भिक्टरलाई अधैर्यताका साथ पर्खिरहेका छन् ।