तीव्र विवादपछि अस्कर अवार्डको नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णय स्थगित गरेको छ ।

अध्यक्ष विमल पौडेलले शनिबार बसेको समितिको बैठकपछि यसअघि गरिएको निर्णय स्थगित गरिएको बताए । ५ दिनको म्याद दिएर पुनः आवेदन माग गरिने उनको भनाई छ ।

‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ । अब पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ’ अनलाइनखबरसँग पौडेलले भने, ‘सम्भवतः आजै आवेदन आह्वान हुन्छ ।’

यसअघि हेरिएका दुई फिल्म अञ्जिला र गुन्युचोलो बाहेकका फिल्मलाई आवेदन मागेर पुनः हेरिने उनको भनाई छ । यसअघि आवेदनको लागि पर्याप्त समय नदिइएको र समितिका सदस्यसँग अस्कर मापदण्डको स्वार्थ बाझिएको भन्दै विरोध भएको थियो ।