


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले वर्षभरिमा ८ सयभन्दा बढी प्रतिवादी पक्राउ गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।


उहाँका अनुसार अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो । पक्राउ पर्नेमा ६ सय ४ जना पुरुष र २ सय जना महिला छन् ।
उनीहरु सबैको कैद जोड्दा ६१ वर्ष २ महिना १५ दिन हुन्छ । त्यसबाहेक १० करोड १२ लाख १ हजार ३ सय ७१ रुपैयाँ जरिवाना असुलउपर गर्न अदालतमा उपस्थित गराइएको छ । अदालतबाट दोषी ठहर भएर पनि लामो समयदेखि फरार रहँदै आएका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको बस्नेतले जानकारी दिए ।
