काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।

दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए । सिनेमाको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापनिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।

निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन् । उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *