

काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभल – २०२५ को रेडकार्पेटमा सहभागी भएका छन् । रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चस्मा र लामो कपालमा देखिएका छन् ।
निर्देशक प्रदीप शाही कालो पाइन्ट र रातो कोटमा प्रस्तुत छन् । प्रदीप अभिनित र प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ अहिले कान्स मार्केटमा सहभागी भएका हुन् । यी दुईजना ‘एक्लो’ प्रवर्धनको लागि कान्समा पुगेका हुन् ।


कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट पनि सहभागी थिए। फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी भएका छन्।
‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको हो।
‘साइन्स फिक्सन’ सिनेमा ‘एक्लो‘ मा प्रदीपसहित बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रीचु राई, कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।
