



पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि कुलपति र प्राज्ञ पदाधिकारीका लागि शैक्षिक योग्यता तोकेर दरखास्त आह्वान गरिएको छ । कुलपतिको हकमा स्नातकोत्तर र उपकुलपति तथा सदस्यसचिव पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण तथा सदस्य पदका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने शैक्षिक योग्यता राखिएको छ ।

उम्मेदवारले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको हुनुपर्ने उल्लेख छ । उमेरको विषयमा ३५ वर्ष उमेर पुरा भएको भनी सूचना प्रकाशित गरिएको छ । उम्मेदवारले आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, भाषा, साहित्य, कला वा संस्कृतिसम्बन्धी योगदान प्रमाणित गर्ने कागजात, सोही क्षेत्रमा काम गरेको अनुभव प्रमाणपत्र तथा सम्बन्धित विधा विकासका लागि संक्षिप्त कार्ययोजना समेत संलग्न गर्नुपर्ने भनिएको छ ।


गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा सिफारिस समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, सङ्गीत संस्कृति सम्बन्धी विधामा सिर्जना, अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्याति आर्जन गरेका व्यक्तिहरू मध्येबाट सम्भव भएसम्म सबै जाति तथा भाषाभाषीलाई समेट्ने गरी र उक्त सबै विधाबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गर्नुपर्ने भनिएको छ ।
आवेदन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको संस्कृति हेर्ने महाशाखामा बुझाउनु पर्नेछ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठान सञ्चालनसम्बन्धी ऐन, २०७७ बमोजिम नियुक्तिका लागि १५ दिने आवेदन माग गरेको हो । जसको सूचना वैशाख २७ गते प्रकाशित भएको थियो ।आवेदन दिने क्रम भने सुरु भइसकेको छ ।
सिफारिस समितिले प्राप्त निवेदनको आधारमा मुख्यमन्त्री समक्ष नामहरू सिफारिस गर्नेछ । सिफारिस समितिको संयोजकमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा तथा सदस्यमा गण्डकी विश्व विद्यालयका कुलपति र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष रहनुहुनेछ ।
