



पोखरा । छिन्नलता गीत पुरस्कार संगीतका युगल जोडी इतु जोजिजु र रामभक्त जोजिजुले प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा बासुदेव त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले २०८१ सालको छिन्नलता पुरस्कार गायनतर्फ जोजिजु जोडीलाई १ लाख राशीको पुरस्कार दिने निर्णय गरेको छ ।

इतु र रामभक्तको संयुक्त स्वर रहेका ‘कुनै बाटोमा तिमी एक्लै’, ‘त्यो कहिले घाम’, ‘जहाँ भामर छ‘’ लगायतका गीत चर्चित छन् । राजकुमार बगरको रचना एवं बिबि अनुरागीको संगीतबद्ध रामभक्तले गाएको ‘उडेर जून छुन्छु भन्थें‘’ बोलको गीतले रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वर तथा शब्दतर्फ प्रथम स्थान हासिल गरेको थियो । सोही गीतका कारण २०५५ सालपछि रामभक्तलाई पनि नेपाली सुगम संगीतमा स्थापित गराएको थियो ।


यस्तै, गीत रचनातर्फ राजेन्द्र रिजाल, संगीत रचनातर्फ आभास (अच्युत फुयाँल) लाई प्रदान गर्ने निर्णय गरिएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए । ५० हजार राशिको युवा प्रतिभा पुरस्कार भने एसडी योगीले प्राप्त गर्नेछन् । पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मजयन्ती अवसरमा असार २२ मा पर्ने हरिशयनी एकादशीका दिन काठमाडौंमा आयोजित समारोहमा प्रदान गरिनेछ ।
