


काठमाडौं । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकनरत फिल्म ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ ।
छायांकनको ३९ औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए ।
उनले भने,‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्राहो । भावनात्मकतासँगै हाँस्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो ।’


निर्देशक योञ्जनले निर्धारित सेयुल अनुसार नै फिल्मको छायांकन सकिनुमा यसमा संलग्न कलाकार र प्राविधिकको कार्य कौशलता महत्वपूर्ण रहेको बताए । छायांकन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको फिल्ममा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक योञ्जने फिल्मको छायांकनकै क्रममा अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउदै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धिरज र मिरुनाको जोडीलाई एकसाथ पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित रहेको उनले सुनाए । निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ । फिल्म आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।
