सन्तोष सुवेदी/पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेपछि यतिखेर सरकारको चर्को विरोध भइरहेको छ । मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा पाइरहेका कुलमानलाई मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन् ।

कलाकारहरुले कुलमानलाई हटाउन नहुने भन्दै सरकारको आलोचना गरेका छन् । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले कुलमान नेपाली कुलकै उज्यालो भएकोले हटाउन नहुने भन्दै सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका छन् । त्यस्तै अर्का कलाकार केदार घिमिरे माग्नेबुढाले ‘कुलमानलाई भुलमान । सालोलाई पालो’ भन्दै स्टाटस लेखेका छन् ।

हाँस्य कलाकार मनोज गजुरेलले पनि कुलमानको बर्खास्तप्रति असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, ‘प्राधिकरणमा रहनु र हट्नुको कारणरतर्क जसले जेसुकै देओस, सर्वसाधारणका नजरमा, कुलमान लोकप्रिय थिए, भए र रहनेछन् ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अब भ्रष्टहरुको पतन कसैले रोक्न नसक्ने बताएका छन् । ‘अनेक गरेर कुलमानलाई हटाएछन् । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन । अब धेरै भयो ।’ अभिनेत्री स्वस्तिमा खड्काले पनि फेसबुकमा कुलमानको तस्विर राख्दै ‘गणतन्त्र !’ भनेर लेखेकी छन् ।  अन्य कलाकारहरुले पनि कुलमान हटाएकोमा विरोध जनाइरहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *