


पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको कोटिहोमको स्थान परिवर्तन भएको छ । लामो समयदेखि विवादको विषय बन्दै आएको कोटिहोमस्थल अन्तत पोखरा १७ विरौटामा तय भएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालले श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा महायज्ञ गर्न लागेको हो । यही आगमी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ सञ्चालनमा आउनेछ ।
बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमी पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमी पुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिती सिर्जना भएको थियो । त्यसपश्चात पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रमुख , पोखरा महानगरपालिकाकी उपप्रमुख ,वडा अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु , पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत,विश्व हिन्दू महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिती गठन गर्ने निर्णय गरेको थियो ।


पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमती दिएपछि आयोजक मानव सेवा फाउण्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो । महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनीधी,टोल बिकास समितीका प्रतिनिधीहरु, स्थानीय संघसस्थाका प्रतिनिधीहरु उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए ।
