


पोखरा । प्रकाश सपुतको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट भन्दा लामो ट्रेलरबाट सपुतले फिल्मको कथा बुझाउने प्रयास गरेका छन् । उपल्लो जात र तल्लो जातको नाममा समाजमा हुने विभेद, त्यसले जन्माउने विद्रोहको कथा फिल्मको ट्रेलरमा देख्न सकिन्छ ।
चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले समाजमा हुने गरेको जातीय विभेदको कथालाई उठान गरेको छ । यो फिल्मले वसन्त र शान्तिको कथालाई उठान गरेको छ ।


यो फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्ग बहादुर पुन, प्रभात पाल ठकुरी, श्री श्रीभान्सी, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, माओत्से गुरुङ, सिरु बिष्ट, भोला सापकोटा, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
मोहन विक र विन्दु बोहरा निर्माता रहेको फिल्ममा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र न्यान्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् । प्रविन भट्टको सम्पादन रहेको यो फिल्ममा सुशन प्रजापतिको डीओपी छ ।
प्रकाश सपूतले ट्रेलरमार्फत ‘ह्यासट्याग सबै बराबर’ अभियानको सुरुवात गरेका छन्, जसले सबै मानिस समान हुन् भन्ने सन्देश दिन्छ । ट्रेलर सार्वजनिक भएपछि ‘वसन्त साँझ’ नामक साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जहाँ प्रकाश सपूत, शान्तिश्री परियार, प्रीति आले, देवेन्द्र बब्लु लगायतका कलाकारहरूको प्रस्तुति थियो ।
