


पोखरा । चर्चित टिभी हाँस्यश्रृंखला ‘सक्किगो नि’ को तेस्रो सिजन बन्द हुने भएको छ । निर्देशक तथा कलाकार अर्जुन घिमिर ‘पाँडे’ ले सामाजिक सञ्जाल मार्फत तेस्रो सिजन समाप्त भएको जानकारी दिएका छन् । उनले तेस्रो सिजन समाप्त भएको उल्लेख गर्दै नयाँ सिजन ल्याउने तयारी भएको बताएका छन् ।
पाँडे लेख्छन्, ‘तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ । यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ’चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ । कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति र व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधता भित्रका मिठासजस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ ।’


पाँडेले चौंथो सिजनलाई कस्तो बनाउने भन्ने बारेमा दर्शकको सुझाव समेत मागेका छन् । यस श्रृंखला निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शन भैरहेको छ । फिल्मपछि अब कम्पनीले श्रृंखलाको चौंथो सिजन ल्याउने बताएको हो ।
