


पोखरा । फागुन २९ गतेबाट प्रदर्शनमा आएको आउटलः दफा २१९ ले सन्तोषजनक व्यापार गरेको छ । लामो समयपछि नेपाली सिनेमा हेर्ने दर्शकले एक्सन फिल्मको मज्जा लिन पाए । फिल्ममा पाँचवर्षपछि पर्दामा फर्किएका नायक सुशील श्रेष्ठको एक्सनलाई धेरैले रुचाए, तारिफ गरेका छन् ।
यो चलचित्रका लागि नायक सुशील श्रेष्ठले एक्सनका लागी गरेको मिहेनत प्रस्ट देखिन्छ । साथमा, फिलमले उठाएको न्यायको कथालाई पनि दर्शकले मन पराएका छन् । फिलमले राज्यले न्याय दिन सकेन भने एउटा व्यक्ति कसरी न्यायका लागि उत्रिन्छ भन्ने कथालाई देखाएको छ । यो कुरालाई दर्शकले निकै मन पराएका छन् ।


उनले चलचित्रका लागि रियल कुटाई खाएको भन्दै एक भिडियो र केही तस्वीर श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । फिल्ममा सुशीललाई प्रहरीले जेलभित्र लौरोले कुटेको एक दृश्य छ । फिल्ममा त्यो दृश्य सामान्य लागे पनि उनले त्यसका लागि रियलमै कुटाइ खाएका थिए ।
उनले लेखेका छन्, ‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौँ । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई मन सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुश गर्नेछन् । हाम्रो टिमले रातदिन मिहिनेत गरेर यो फिल्मलाई जीवनमा ल्याएको हो । यो दृश्य त्यस महान् प्रयासको एउटा सानो झलक मात्र हो । हाम्रो सपना थियो, संवदनशिल विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने ।’
