काठमाडौँ । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमाबाट डेब्यू गरेका छन् । क्रिकेट मैदानमा आफ्नो अद्भुत ब्याटिङ कौशल प्रदर्शन गरेका वार्नर अब तेलुगु सिनेमा ‘रोबिन हुड’ बाट अभिनय क्षेत्रमा डेब्यू गर्दै छन् । ३८ वर्षीय वार्नरले सामाजिक सञ्जालमार्फत आफ्नै डेब्यूको जानकारी सार्वजनिक गरेका हुन् ।

वार्नरले आफ्नो पोस्टमार्फत लेखेका छन्, ‘भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । ‘रोबिन हुड’ को हिस्सा हुन पाउँदा म अत्यन्तै खुसी छु ।’ उनको पोस्टपछि क्रिकेट र चलचित्र प्रेमी दर्शकहरू माझ उत्साह देखिएको छ ।

शनिवार चलचित्र निर्माण टिमले डेभिड वार्नरको विशेष पोस्टर सार्वजनिक गर्दै उनलाई स्वागत गरेका थिए । पोस्टरमा लेखिएको थियो, ‘बाउन्ड्रीदेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ ।’

डेभिड वार्नर भारतीय क्रिकेट प्रेमी दर्शकहरू माझ निकै लोकप्रिय खेलाडी हुन् । उनले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा सनराइजर्स हैदराबादका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि समेत जिताएका थिए । उनको बलियो फ्यान बेसले अब चलचित्र क्षेत्रमा पनि उत्साहजनक प्रतिक्रिया दिने अपेक्षा गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *