पोखरा- जेठ ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली एक्सन चलचित्र ‘नरसिंहाः अवतार’ ले देशव्यापी सिनेमा घरहरूमा उत्साहजनक प्रतिक्रिया पाइरहेको बेला चलचित्रको मुख्य कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष संवाद गर्न पोखरा आउन लागेका छन्। जेष्ठ २० गतेका लागि तय गरिएको यो भेटघाट कार्यक्रममा चलचित्रका प्रमुख अभिनेता राजेश हमालसहित अन्य कलाकार र निर्माता टोली पोखराका विभिन्न सिनेमा हलमा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम तय गरिएको हो।

नेपाली फिल्म उद्योगका ‘महानायक’ राजेश हमाल झन्डै ८ वर्षपछि ‘नरसिंहाः अवतार’ मार्फत ठूलो पर्दामा फर्किएका हुन्। प्रदर्शन सुरु भएलगत्तै हमाल देशका विभिन्न स्थानमा पुगेर चलचित्रप्रतिको दर्शकको उत्साह प्रत्यक्ष अनुभव गरिरहेका छन्। यो क्रमलाई निरन्तरता दिँदै उनी अब पोखरा पुग्ने भएका हुन्। हमालसँगै चलचित्रमा अभिनय गरेका अभिनेता सरोज खनाल, राज कटुवाल, अभिनेत्री नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, साथै वितरक नरेन्द्र महर्जन र निर्माता छविराज ओझा पनि टोलीमा सहभागी हुनेछन्।

दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्र एक सामाजिक सन्देशसहितको एक्सन-ड्रामा हो, जसमा राजेश हमाल एक इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको भूमिकामा प्रस्तुत भएका छन्। चलचित्रको स्क्रिप्ट आफूले अघिसम्म गरेका भूमिकाभन्दा फरक र चुनौतीपूर्ण लागेकै कारण यसमार्फत पुनरागमन गर्न इच्छुक भएको हमाल बताउँछन्। चलचित्रमा अभिनेता सरोज खनालसँग उनको सहकार्य ३२ वर्षपछि दोहोरिएको हो। सन् १९९४ मा प्रदर्शनमा आएको ‘सडक’ पछि पहिलोपटक यी दुई कलाकार एउटै पर्दामा देखिएका हुन्।

चलचित्रमा नयाँ पुस्ताका कलाकारहरूसँग अनुभव साटासाट गरिएको छ। अभिनेता राज कटुवालले सानैदेखि हमाललाई प्रेरणाको स्रोत मानेको बताएका छन् भने अभिनेत्री नीति शाह र सनिषा भट्टराईले हमालसँग काम गर्न पाउनु आफूका लागि गर्वको कुरा भएको प्रतिक्रिया दिएका छन्। चलचित्रमा प्रशान्त ताम्राकार, नीर शाह, दीपा शाही, प्रकाश कुँवर लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

फिल्मको अर्को आकर्षण भनेको २८ वर्षअगाडि रिलिज भएको चलचित्र दैव संयोग को लोकप्रिय गीत ‘अच्छा, तर लण्डनको चिसोले समाउला’ को नयाँ संस्करण हो। रिमेक गरिएको उक्त गीतमा हमाल र सरोज खनाल पुनः एकसाथ देखिनेछन्, जसले पुराना दर्शकहरूलाई पनि चलचित्रप्रति आकर्षित बनाएको छ।

फिल्मले केही दिनअघि आफ्नो बक्स अफिस कलेक्सन सार्वजनिक गरेको थियो, जसअनुसार प्रदर्शनपछि दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ। एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टको संयुक्त वितरणमा देशभर प्रदर्शनमा रहेको चलचित्रले समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ।

पोखरामा आयोजना हुन लागेको विशेष कार्यक्रममा दर्शकहरूले चलचित्रमा अभिनय गर्ने कलाकारहरूसँग प्रत्यक्ष भेटघाट गर्न, चलचित्रबारे जिज्ञासा राख्न र आफ्नो प्रतिक्रिया दिन सक्नेछन्। पोखराका दर्शकका लागि यो एउटा दुर्लभ अवसर हुनेछ, जहाँ सिनेमा हेरेपछि त्यसका कलाकारहरूसँग साक्षात्कारको मौका पाइनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *