


पोखरा । ‘द्रोपदी’ को प्रदर्शन मिति नजिकिएसँगै प्रचारका लागि फिल्मको टिम देश दौडाहामा निस्किएको छ । शुक्रबार पोखरामा आएको फिल्मको टिमले पोखराका सञ्चारकर्मीहरुसँग फिल्म विशेष कथामा तयार भएको सुनाए ।
फिल्मका लेखक तथा निर्देशक ऋषिराज आचार्यले फिल्मको कथा चार वर्ष लगाएर लेखेको बताए । नेपालको हिमाली जिल्ला डोल्पा, मुस्ताङका कथावस्तुलाई फिल्ममा उतारिएको उनले जानकारी दिए । कर्णाली भेगको परिवेश, रहनससहन, नारी संवेदनामा मौलिक फिल्म बनाएको उनको भनाइ छ । शीर्षकले फिल्म ‘महाभारत’को द्रौपदी पात्रसँग मिले पनि देशको यथार्थपरक कथामा फिल्म बनेको आचार्यको दाबी छ । फिल्म रिलिज अघि नै केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भइसकेको निर्देशक आचार्यले जानकारी दिए ।


चैतको ८ गतेबाट देशभर प्रदर्शन आउन लागेको उक्त फिल्ममा खेल्ने कलाकारहरु अडिसनबाट छनोट भएर आएको निर्देशक आचार्यले बताए । ‘‘हिरो को हो भनेर नभन्नुहोला । फिल्ममा नयाँ अनुहार हुनुहुन्छ, सबै अडिसनबाट आउनुभएको हो । कन्टेन नै फिल्मको हिरो हो,’’ उनले भने ।
नेपाल आइडलका विजेता रवि ओढ पहिलो पटक यो फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दै छन् । उनले फिल्म आफ्ना लागि नौलो र फरक क्यानभास भएको बताए । ओढले पश्चिमी भेगको एक पात्रको भूमिका निभाएको सुनाए ।
फिल्मको नायिका आश्विनी शाहीले गाउँठाउँका परम्परालाई फिल्ममा समावेश गरिएको सुनाइन् । ४८ दिनसम्म डोल्पामा बसेर यो फिल्म तयार पारिएको फिल्मका निर्माता प्रकाश ज्ञवालीले बताए । उनका अनुसार फिल्ममा २ करोडको लगानी रहेको छ ।
