


पोखरा । बहुचर्चित गायक पुरुषोत्तम न्यौपानेको एकल साँगीतिक साँझ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक न्यौपानेको ‘साँगीतिक साँझ’ गर्न लागेको हो । प्रतिष्ठानले आगमी चैतको २२ गते पोखराको सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो । प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले आफ्ना चर्चित थुप्रै गीतहरु प्रस्तुत गर्नेछन् ।
पोखरामा बसेर संगीत साधनामा सक्रिय न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् । उनले स्वदेश तथा अमेरिका, अस्ट्रेलिया, क्यानाडा, यूरोप, जापानलगायत विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।


स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–५, बेलटारीमा जन्मिएका न्यौपानेले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा सुरु गरेका थिए । उनका स्वरमा हजारभन्दा बढी गीत छन् । ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा ध्वजा’ लगायत गीत लोकप्रिय छन्।
प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ–२०८०’ आयोजना गरेको थियो । प्रतिष्ठानको वर्तमान अध्यक्ष रीता थापाको कार्यकालबाट सुरु भएको यो कार्यक्रम वार्षिकरूपमा एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई समर्पित गर्दै संचालन हुँदै आएको प्रतिष्ठानका केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङले बताए ।
