


पोखरा । छायांकन हुँदै चर्चामा आएको फिल्म ‘बलिदान’ को पोस्टर सार्वजानिक भएको छ । पोस्टर सार्वजानिकसँगै असोज १३ गते फुलपातीको दिन प्रदर्शन मिति समेत तय गरिएको छ । निर्माण टिमले दुईवटा फरकफरक खालको पोस्टर सार्वजानिक गरेको छ । एउटा पोस्टरमा मुख्य पात्र शवले छरिएको मैदानबाट अघि बढ्दै गरेको देखिएका छन् । अर्को पोस्टरमा कालीमाताको भव्य मूर्तिअघि मुख्य पात्र त्रिशुल र खड्ग लिएर उभिएका छन् ।
पोस्टर सार्वजानिक गर्दै निर्देशक सन्तोष सेनले फिल्मको मुल आधार नै कथा भएको उल्लेख गरेका छन् । लेखकहरूसँग बारम्बारको संवादपछि यो कथा केवल एउटा समयको मात्रै नभई हिजो, आज र भोलिको – सबै युगको कथा को पनि महाकथा बन्न पुगेको सेनले लेखेका छन् ।


‘यसले यहाँ मात्र होइन, जहाँसुकै हुने शोषण र शोषित वर्गको यथार्थ चित्रण गर्छ । यही कारण, हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न सकेनौँ । कलाकार छनोटदेखि प्रविधि र प्राविधिक पक्षसम्म, निर्माणदेखि व्यवस्थापनसम्म, गीतसंगीतदेखि सम्पादनसम्म सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न हाम्रो टिमले अहोरात्र परिश्रम गरिरहेका छौँ,’ सामाजिक सन्जाल फेसबुकमा शेनले लेखेका छन् । उनले छिट्टै नै टिजर सार्वजानिक गर्ने उल्लेख गरेका छन् ।
४ महिना लगाएर फिल्मको छायांकन फागुन पहिलो साता सकिएको थियो । फिल्ममा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।
