


काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो ।नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरी १०७ औं स्थानमा परेको छ । गत वर्ष नेपालले यस्तो अंक३५ पाएको थियो । अर्थात नेपालको अवस्था गतवर्षभन्दा पनि कमजोर भएको छ ।


विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ। ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले३२ अंक,पाकिस्तानले २७ अंक, बंगलादेशले २३र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले ४३ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी ३० वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।
