पोखरा । असोज १३ गते दशैंको फूलपाती मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलर रिलिजको एक साता नपुग्दै १९ लाख भन्दा बढी पटक युटुवमा हेरिएको छ ।
३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ । यसअघि सोही फिल्मको ‘मेरो प्यारो माइतीघर’ बोलको टाइटल गीतपनि दर्शकले रुचाएका थिए ।
ट्रेलर अनुसार फिल्मका मुख्य जोडी प्रकाश सपूत र उपासना सिंह ठकुरी प्रेम सम्बन्धमा छन् । तर, जातीय पृष्ठभूमि फरक हुँदा उनीहरुको सम्बन्ध संकटमा पर्छ । यस्तैमा धीरज मगरको प्रवेशले कथामा थप द्वन्द्व सिर्जना गरेको देखिन्छ । प्रेम, परिवार र सांस्कृतिक मूल्यबीचको संघर्ष र भावनात्मक उतारचढावलाई फिल्मले रोचक ढंगले प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ ।
मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा प्रकाश, उपासना र धीरजसहित केदार घिमिरे, श्यामाश्री शेर्पा, वराज लामा, वुद्दि तामाङ, रजनी गुरुङ लगायतको अभिनय रहेको छ ।
रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् । रोहित अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मका लेखक रामशरण पाठक हुन् ।