शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरे । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो ।
स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् ।
प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न सक्ने जनाएको छ । नेदरल्याण्डमा अक्टोबर २९ मा आमनिर्वाचन हुँदैछ । निर्वाचनको मुखमा त्यहाँ हिंसात्मक प्रदर्शन भएको हो ।
यस वर्ष ४४ हजार ५५ जना शरणार्थी तथा उनका परिवारका सदस्य नेदरल्यान्ड आएका छन् । सन् २०२४ मा सिरियाबाट ४४ प्रतिशत शरणार्थी आएका छन् भने इराक, टर्की, इरिट्रिया र यमनबाट करिब ५ प्रतिशत शरणार्थी आएका छन् ।