गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् ।

सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् ।

कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताउनुभयो । जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका उहाँको भनाइ छ ।