


काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ ।
देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् ।


महोत्सवभरी उनले भागवत महापूराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाई समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ ।
६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छन् ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छन् ।
उनका कथा वाचनहरूले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा प्रभावित गराउने गर्छिन् । अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षण मानिएको छ ।
माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन् । आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ । आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
