बलिउडका ‘दबंग’ सलमान खान अहिले टिभी शो ‘बिग बोस’ र फिल्म ‘गलवान’मा ब्यस्त छन् । फिल्मको पहिलो छायांकन लद्दाखको सुन्दर उपत्यकामा गरिएको छ जहाँ, एक्सनका दृश्य खिचियो ।

यो फिल्म भारत-चीन द्वन्द्वमा आधारित छ । निर्माताले नेपाली अभिनेता अनुपविक्रम शाहीलाई कास्ट गरेका छन् । अनुपले केही दिनअघि फिल्मको पहिलो चरणको छायांकन सकेको जनाएका छन् ।

फिल्म निकट स्रोतका अनुसार ‘गलवान’मा भारतीय र चिनियाँ सैनिकबीच भएका ५ अलग-अलग झडपका दृश्य छायांकन गरिएको थियो । एक्सन दृश्य शानदार र यथार्थपरक देखिने सुनिश्चित गर्न, २५० देखि ३०० सैनिक छायांकनमा संलग्न थिए ।

यी दृश्य छायांकन गर्न थाइल्याण्डबाट १५-२० जनाको विशेष एक्सन टोली पनि बोलाइएको स्रोतले बतायो । लद्दाखको चिसो मौसम र अक्सिजनको अभावको बाबजुद पनि यो टोलीले पूर्ण ऊर्जाका साथ काम गरेको थियो ।