काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याएको थियो ।

नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।