२३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ ।
यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो । शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेको सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षण क्रममा समूहले सरकार समक्ष यस्तो जानकारी गराउँदै क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको छ ।
२४ भदौको आन्दोलनले विशेषगरी विभिन्न व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरेको र त्यसको प्रत्यक्ष मारमा आफ्नो समूह परेको सीजीले स्पष्ट पारेको छ ।
सीजीका अनुसार सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् ।