



पोखरा । वर्षको सुरुवातसँगै प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ फिल्म व्यावसायिक हिसावमा सफल ठहरियो । फिल्मलाई हेर्ने दर्शक तथा समीक्षकले राम्रै तारिफ गरे । यो फिल्मलाई गीतको लाकप्रियताले पनि सफल बनायो । फिल्ममा समावेश चारवटै गीतलाई निकै रुचाइयो जसको परिणाम फिल्म सुपरहित बन्यो ।

बक्स अफिसमा १० करोडमाथिको व्यापार गरिसकेको यो फिल्मले गीतमा एउटा अभूतपूर्व सफलता हासिल गरेको छ । फिल्मका सबै गीतले डिजिटल प्लेटफर्म युट्युबमा १ करोड भ्यूज नघाएका छन् । कुनै पनि नेपाली फिल्मको सबै गीतले युट्युबमा एक करोड बढी भ्यूज प्राप्त गरेको यो पहिलोपटक हो । यसअर्थ ‘ऊनको स्वीटर’को गीति एल्बम नै सुपरहिट बनेको छ ।


यो समाचार तयार पार्दासम्म युट्युबमा ‘फूलहरू मुस्काउँछन्’ले २ करोड १७ लाख, ‘मखमली’ले १ करोड ३३ लाख, ‘काफ्ले’ले १ करोड ३९ लाख र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड ७८ हजार भ्यूज पाएको देखिन्छ ।
चारवटै गीतको सफलतापछि निर्माता कम्पनी आर्टमाण्डुले दर्शकप्रति कृतज्ञता व्यक्त गरेको छ । ऊनको स्वीटर’ले केही दिनमै प्रदर्शनको ५१औं पूरा गर्दैछ ।
काफ्ले र गुरुङसेनीबीचको प्रेमकथामा आधारित यो फिल्ममा विपिन कार्की र मिरुना मगरको जोडी बाँधिएको छ । यसमा एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, भावना खपाङ्गी, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा लगायतको पनि अभिनय छ ।
