



पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् ।

केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भएपछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।


महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।
बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण गर्ने उद्घोषले पनि पोखरेली भक्तजनमा उत्साह छाएको छ, जसका कारण आर्थिकसँगै जग्गा दान गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
कोटिहोममा जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट एकसय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौं सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।
‘यो कोटिहोमका विषयमा केहि अनर्गल प्रचार गरियो जसले गर्दा भक्तजनलाई निराश छाएको महिले महशुष गरेको थिए’ उनले भने, ‘अनर्गल प्रचारका बाबजुद पनि सम्पूर्ण भक्तजनको उत्साहका साथ सहभागी भएर कोटिहोम दर्शन गर्न आउनुभयो म सबै प्रति आभारी छु । तपाईँहरूको यो उपस्थिति मेरा लागि ऊर्जा हो ।’
त्यसैले त बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भन्ने गरेका छन्–‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु, महायज्ञका पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ ।’कोटिहोमा स्व। सूर्य व। केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी दुई लाख रुपैयाँ दान गरेकी छन् ।
