


पोखरा । नेपाली चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेटको ट्रेलरले २०७२ सालको मधेस आन्दोलनको पृष्ठभूमिमा अपहरणमा परेका दुई बालकको खोजीमा प्रहरीले गरेको संघर्षको कथा प्रस्तुत गरेको छ ।
ट्रेलरमा आन्दोलनको रापमा दुई बालकको उद्धार गर्न प्रहरीले अपनाएको रणनीति र त्यस क्रममा आइपर्ने चुनौतीलाई देखाइएको छ । अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको द्वन्द्वले ट्रेलरलाई थप रोचक बनाएको छ ।


सन् २०१५ को परिवेशमा बनेको यो सिनेमा अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसित भइसकेको छ र नेपाली दर्शकले पनि मन पराउने विश्वास निर्माणटिमको छ ।
आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउने ‘राजागंज’मा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको निर्देशन दिपक रौनियारले गरेका छन् ।
