



काठमाडौं । अचेल फरक शैलीमा नेपाली फिल्मको पोस्टर सार्वजनिक गर्ने ट्रेन्ड देखिएको छ । यही शैलीमा ‘बलिदान’को पनि नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरियो ।

पोस्टरमा रगतले लतपतिएका र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक मानव आकृतिमाथि भालाजस्तो देखिने धारिलो अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोशको भाव झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।


पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले ‘बलिदान’ एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताएका छन् । ‘प्रेमगीत ३’पछि उनको निर्देशनमा बनेको यो दोस्रो फिल्म हो ।
आसुसेन फिल्म्सको प्रस्तुति रहेको फिल्ममा समीरसहित सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ । यो फिल्म यसपालिको दशैंको फूलपाती (असोज १३ गते) बाट प्रदर्शन हुँदैछ ।
