


पोखरा । वरिष्ठ हास्यव्यंग्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफू विरुद्ध अनावश्यक भ्रामक हल्ला फैलाएको विषयको बारेमा खण्डन गरेका छन् । श्रेष्ठ र आचार्यले संयुक्त रुपमा खण्डन गरेका छन् । केही व्यक्तिहरुले सनातन धर्म विरोध गरेर कार्यक्रम बनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार गरेका छन् । यसैको खण्डन गर्दै श्रेष्ठ र आचार्यले युएसएडको पैसाले सचेनामुलक कार्यक्रम निर्माण गरेको प्रष्टाएका छन् ।
श्रेष्ठले भने, ‘मह जोडीले युएसएडको पैसाले धर्म विरोधी प्रचार गर्यो भन्दै हिडे भन्ने प्रचारले चित्त दुखेको छ । हामी सबैलाई हितैसी सम्झन्छौ, हितैसीबाट यस्तो अरोप सुन्नु पर्दा चित्त दुखेको छ । संसारमा राम्रा नराम्रा कुरा हुन्छन् । हामीले राम्राराम्रा कुरा छानेर काम गरेका छौं । जस्तो की, कुष्ठरोग, क्षयरोग, खोपका बारेमा जानकारीमुलक कार्यक्रम गर्नु अधर्म होइन ।’ उनले चित्त नबुझे युटुबमा राखिएका टेलिफिल्म हेर्न आग्रह गरे ।


आचार्यले युएसएडको पैसाले कुनै पनि धर्मको विरोध नगरेको उल्लेख गरेका छन् । युएसएडको पैसाले ‘हरिबहादुर मदनबहादुर, आमा, असल लोग्ने’ लगायतका विभिन्न किसिमका सचेतना मुलका कार्यक्रम गरेको उनले प्रस्टाएका छन् । ‘हाम्रा कार्यक्रम युटुुबमा किताब जस्तै झर्लङग छन् । हेर्दा हुन्छ । सनातन धर्मको विरोध गरे भनेर प्रचार गर्नु कपोकल्पित कुरो हो । यसबाट हामी विचलित हुँदैनौं । यी सबै भ्रामक कुराको विश्वास नगर्दिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।
०५२ सालमा पञ्चायत व्यवस्थाको श्राद्धे भन्ने कार्यक्रमबाट पण्डित पात्रको व्यंग्य गरेको उनले बताए । ‘पण्डित भन्दैमा भगवान हुँदैन । व्यंग्य सबैलाई गर्न पाइन्छ । त्यसको एक टुक्रा कोटर सनातन विरोध भन्नु कपोकल्पित कुरा हो,’ आचार्यले भने ।
