गायक तथा संगीतकार टंक बुढाथोकीले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहूर्त सम्पन्न भएको छ। शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै चलचित्रको मुहूर्त गरियो। कार्यक्रममा सरोज खनालले क्ल्याप हानेका थिए भने युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए। बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त शट दिएका थिए।

यस चलचित्रको छायांकन शुक्रबारदेखि नै सुरू गरिएको छ। चलचित्र ‘मन बिनाको धन’ अशोक दर्जीको हिट गीतको शीर्षकमा आधारित छ, जहाँ बाल गायक अशोक दर्जी मुख्य भूमिकामा देखिनेछन्। उनीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा निर्देशक टंक बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रलाई बैंकटेश इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ।

चलचित्रका निर्माता विष्णु माया मैनाली हुन् भने सह-निर्मातामा जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल र विजया पाण्डे रहेका छन्। कार्यकारी निर्माताको रूपमा मिनु शर्मा (सपना) छन्।

अशोक दर्जीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीतमार्फत चर्चा कमाएका थिए। यस गीतमा टंक बुढाथोकीले संगीत दिएका थिए। हाल अशोक दर्जी काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन्।

चलचित्रमा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछ। साथै, अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *