


पोखरा । सुटिङ सुरु नहुँदै निकै अपेक्षाका साथ हेरिएको फिल्म ‘बलिदान’ को छायांकन सकिएको छ । सन्तोष सेनद्धारा निर्देशित फिल्म ४ महिनाको अवधिमा छायांकन सकिएको छ । छायांकन सकिएको जानकारी दिँदै निर्देशक सेनले महान चलचित्र बनाउन कुनै कम्प्रमाइज नगरेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘बलिदान निर्माणका विभिन्न प्रकरण छिचोल्दै जाने क्रममा हामीले यसलाई ‘महान चलचित्र’ बनाउने कुरामा कतै पनि कम्प्रमाइज गरेनौं । कथाको सृजना सोचेभन्दा राम्रो गर्यौं, कलाकार, प्राविधिक र प्रविधि छ्नोटमा सोचेभन्दा राम्रो ग¥यौ । अहिले चार महिनाको लामो कठीन परिस्थितिसंग जुध्दै दिनरात रगत पसिना बगाएर सोचेभन्दा १०० गुणा राम्रो गर्दै यसको छायांकनको चरण पार गरेका छौँ । आगामी दिनका सम्पादनका कार्यमा पनि कुनै कम्प्रमाइज हुने छैन ।’


फिल्मको अन्तिम दृश्य मोरङको हसिना सिमसार क्षेत्रमा खिचिएको छ । सेनका अनुसार फिल्म केही दिनमै पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । फिल्ममा ‘१२ गाउँ’ बाट डेब्यू गरेको समीर भट्ट शीर्ष भूमिका देखिदैछन् ।
‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामले एक्सन दृश्य कोरियोग्राफी गरेका छन् । फिल्मको लागत ७ करोड पुगेको चर्चा सुनिएको छ । फिल्मको प्रर्दशन मिति भने टुंगो लगाइसकेको छैन् । केही हप्ताभित्रमा टिजरमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमले गरेको छ ।
