


पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसन कास्की जिल्लामा विद्युतीय उपकरण तथा सेवाको कारोबार गर्ने व्यावसायिकहरूको साझा संगठन हो। यसले व्यावसायिक हकहित संरक्षण गर्दै, एकताबद्धता कायम गर्दै, र भाइचाराको विकास गर्दै ूप्रत्येक सबैका लागि, सबै प्रत्येकका लागिू भन्ने भावनाले अगाडि बढ्दैछ। यसले व्यावसायिक तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
अहिले पोखरा इलेक्ट्रिकल एसोसिएसनले आफ्ना व्यावसायिक सदस्यहरूको सुरक्षा र आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल माइक्रो इन्सुरेन्स कम्पनीसँग सामूहिक दुर्घटना बीमा योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत प्रत्येक सदस्यलाई ५ लाख सम्मको दुर्घटना बीमा सुरक्षा प्रदान गरिनेछ। यसले व्यवसायीहरूको भविष्यलाई दुर्घटनाको जोखिमबाट सुरक्षित बनाउने उद्देश्य राखेको छ।


पोखरा इलेक्ट्रिकल एसोसिएसनको कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष श्री केशव ढकाल ज्यूको उपस्थितिमा नेपाल माइक्रो इन्सुरेन्स कम्पनीका पोखरा शाखाका शाखा अधिकृत श्रीकृष्ण पौडेलले बीमा पोलिसी हस्तान्तरण गरे। यस कार्यक्रममा एसोसिएसनका पदाधिकारीहरू र अन्य आमन्त्रित अतिथिहरू उपस्थित थिए।
अध्यक्ष श्री केशव ढकाल ज्यूले यस योजनाको महत्व उल्लेख गर्दै भने, ‘यो बीमा योजनाले हाम्रा सदस्य व्यवसायीहरूलाई दुर्घटनाको अप्रत्याशित जोखिमबाट सुरक्षा प्रदान गर्नेछ। यसले न केवल व्यक्तिगत सुरक्षा र उनीहरूको परिवार र व्यवसायलाई पनि आर्थिक सुरक्षा प्रदान गर्नेछ।’
नेपाल माइक्रो इन्सुरेन्स कम्पनीका शाखा अधिकृत श्रीकृष्ण पौडेलले योजनाको विवरण दिँदै भने, ‘हामीले पोखरा इलेक्ट्रिकल एसोसिएसनका सदस्यहरूको सुरक्षा र आर्थिक स्थिरतालाई प्राथमिकता दिँदै यो योजना सुरु गरेका छौं। यसले उनीहरूको व्यवसायिक जीवनलाई सुरक्षित बनाउन मद्दत गर्नेछ।’ पोखरा इलेक्ट्रिकल एसोसिएसनले यस योजनाबाट सदस्यहरूलाई प्राप्त हुने लाभ र यसको प्रक्रियाबारे अझै विस्तृत जानकारी प्रदान गर्नेछ।
