


पोखरा । उच्च अदालत पोखराले पोखरामा हुने भनिएको कोटीहोम नरोक्न पोखरा महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । मानव सेवा फाउण्डेसनले आगमी बैशाखमा गर्ने भनिएको कोटीहोम गर्न दिने आदेश अदालतले दिएको छ ।
कोटीहोममा महानगरले अवरोध गरेको भन्दै मानव सेवा फाउण्डेसनले दायर गरेको रिटमा न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारणसहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो ।


आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो, निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवम् प्रमाण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्नु । कोटीहीम विराट ज्ञान महायज्ञ सञ्चालन गर्दा कुनै किसिमको हानी नोक्सानी नपुग्ने र त्यस्तो हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति व्यहोर्न निवेदक तयार रहेको प्रतिबद्धता समेत निवेदकका तर्फबाट भएको छ । त्यसैले सुविधा सन्तुलनको सिद्धान्त समेतका दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगोे नलागेसम्म कोटीहोम महायज्ञ सञ्चालनमा कानुन बमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
