


पोखरा । ‘अरेली काडैले मलाई च्वास्सै च्वास्सै’ बोलको यो गीत डेढवर्षअघि तीजको बेलामा आएको थियो । त्यो बेला तीजको पार्टीदेखि अन्य कार्यक्रममा यही गीत घन्किने गथ्र्यो । अझै पनि साना ठूला कार्यक्रममा यही गीत बज्ने गर्छ । टिकटक, रिल्स तिर एकछत्र छाएको यो गीत बजारमा आएसँगै कतिले शब्दको विषयलाई लिएर खण्डन समेत गरेका थिए । तर, दर्शकले रुचाएपछि यसको चर्चा चुलिदै गयो र अहिले १० करोड भ्युज जाने पहिलो लोक गीत बन्न पुग्यो ।
गायिका शान्तिश्री परियारले गाएको उक्त गीतलाई खेम सेन्चुरीले संगीत भरेका थिए भने नेत्र अर्यालको शब्द सिर्जना रहेको छ । गीत गायिका परियारको अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको हो ।


संयोग भनौं, उनै गायिका परियारले गाएको फिल्म ‘खुस्मा’ मा समावेश ‘रुकुमैकोट’ गीत पनि १० करोड पटक हेरिएको छ । गीतमा शान्तिश्रीलाई एसडी योगीले स्वरमा साथ दिएका छन् । दुई वटा गीत एक दिनको फरकमा युट्युवमा १०–१० करोड पटक हेरिने सूचीमा प्रवेश गरेपछि गायिका शान्तिश्रीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेकी छन् ।
शान्तिश्रीले लेखेकी छन्, ‘यो मेरो लागि निकै खुसीको कुरा हो । आदरणीय दर्शक स्रोताको अगाध माया पाएका कैयौँ गीतमा मेरो स्वर मिसिएका छन् । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहीँ न कहीँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ । मैले गाएका केही चलचित्रका गीत पनि बजारमा निकै मन पराइएका छन्, तर ‘रुकुम मैकोट’ मेरो आवाजद्वारा १० करोड पुग्ने पहिलो गीत बनेको छ ।’
गायिका शान्तिश्रीले यो सफलता आफ्नोमात्रै नभएर धेरैको साथ, सहयोग र समर्थनले हासिल भएको बताएकी छन् । ‘एउटा काम सफल हुन पर्दामा देखिने र पर्दा पछाडिका कैयौं नाम हुन्छन् । ती नामप्रति मेरो सधैँ सम्मान र अन्तआत्माबाटै कृतज्ञ छु । यो खुसी यहाँ जोडिनुभएका हरेक नामसँग साट्न चाहन्छु । यति छोटो समयमा यति धेरै हेर्नुहुने, सुन्नुहुने र हरेक चाडवाडमा नाच्नुहुने आदरणीय भगवानरुपी दर्शक÷श्रोताज्यूको यो प्रेमप्रति सधैँ नतमस्तक छु ।’
१० करोड भ्यूजसहित पहिलो नेपाली लोकगीत बन्ने यो दौडमा वसन्त थापाको ‘सालको पात टपरी’ र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’बीच होड थियो । तर पछिल्लो समय कलाकारले धमाधाम भ्युज बढाउन केही सातायता धमाधम गीत लिंक सेयर गर्दै आएका थिए । ६ वर्ष पहिले बजारमा आएको ‘सालको पातको टपरी हुनी’ बोलको गीत यो समाचार तयार पार्दासम्म ९ करोड ९४ लाख ३५ हजार बढी पटक हेरिएको छ ।
साढे पाँच महिनाअघि सार्वजानिक भएको ‘रुकुमैकोट’ बोलको गीत सुरुवातदेखि नै चर्चामा थियो । यो गीत दुई महिनासम्म ग्लोबल ट्रेडिङमा पर्दै इतिहास समेत रचेको थियो । यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड फिल्म ‘घामड शेरे’ को ‘साली मनपर्यो’ सँग थियो । २ वर्षमा यस गीतले १० करोड भ्यूज बटुलेको थियो । जसकारण यो वर्षको सर्वाधिक भ्युज पाउन सफल ‘रुकुम मैकोट’ को रेकर्ड तोड्न मुस्किल हुनेछ ।
