


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन् ।
यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायत पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।
‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’


यस्ता चेतावनीमूलक सूचनाले सुर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनले देखाएका छन् । नेपालमा सुर्ती तथा चुरोट सेवनबाट बर्सेनि ३७ हजारको ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ ।
सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत भएपछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा प्रयोगले पार्ने असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ । यस्तो चेतावनीका कारण थाइल्यान्डमा ८५ प्रतिशतले धूमपान छाडेको एक अध्ययनले देखाएको छ । यो दर पाकिस्तान तथा म्यानमारमा पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन् ।
